भव्यताका साथ तमु ल्होसार २०७२ "प्र ल्हो" मनाइयो

December 31, 2015

तमु ल्होसार २०७२ - आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौं विषेश

१५ पौष २०७२, काठमाण्डौँ, नेपाल
हरेक बर्ष जस्तै यस बर्ष पनि तमुहरुको महान पर्व 'तमु ल्होसार २०७२' भव्यताका साथ सम्पन्न भएको छ । र ल्होसार मनाउने सिलसिलामा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले पनि आफ्नो सकृय सहभागीता जनाएको छ । बिहान ११:०० बजे बसन्तपुर दरबार स्क्वायरबाट झाँकी तथा र्याली शुरु भएको थियो । सो र्याली बसन्तपुरबाट नयाँ सडक, भोटाहिटी, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुंदै टुंडिखेल प्रवेश गरेको थियो । यो साल "प्र ल्हो" अर्थात बाँदर बर्गको स्वागत र "ल्हु ल्हो" अर्थात भेँडा बर्गको बिदाइ गर्दै तमु ल्होसार २०७२ मनाइएको हो ।

सो झाँकी तथा र्याली प्रदर्शनमा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंले घाँटु न्रित्य तथा सोरठी न्रित्य पदर्शन गरेको थियो, साथै तमु (गुरुङ) हरुको मौलिक पहिचान झल्काउने खालको सामानहरुको प्रदर्शन गरेको थियो र पुरुष, महिला तथा बालबालिकाहरु पनि सबै जना स्याङ्जाली गुरुङ (तमु) भेषभुषामा सजिएका थिए । आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंको बिशेष प्रस्तुती भनेको तमु (गुरुङ) हरुको मौलिक तथा परम्परा झल्किने खालको घरको नमुना रहेको थियो । सो घरको नमुनाको दर्शकहरुले अत्यन्तै चाख लगाएर अवलोकन गरेका थिए । सो कार्यक्रममा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंले झाँकी तथा र्याली प्रदर्शनमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै बेलुकी साँस्क्रीतिक कार्यक्रम अन्तर्गत न्रित्य प्रतियोगितामा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै गरी तमु ल्होसार २०७२ मूल आयोजक समारोह समितिले बिभिन्न व्यक्तित्व तथा संस्थालाई तमु (गुरुङ) समुदाय तथा राष्ट्रलाई पुर्याएको योगदान स्वरुप सम्मान गरेको थियो र आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौं पनि त्यसरी सम्मानित हुने अवसर प्राप्त गर्‍यो ।

सो कार्यक्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमंत्री श्री के. पि. शर्मा ओली हुनुहुन्थ्यो । त्यस्तै भु. पु. प्र. म. तथा नेपाली काङ्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा, बन मन्त्री अग्नी सापकोटा लगायत अन्य तमु समुदायका विशिष्ट व्यक्तित्वहरुको गौरबमय उपस्थिती रहेको थियो ।