ऐतिहासिक प्रथम तमु सार्क सम्मेलन
धरान, ७ कार्तिक २०७३
"सम्पूर्ण तमु (गुरुङ) हरुको आव्हान ! एकता, अस्तित्व र पहिचानको लागि सार्क सम्मेलन !!" भन्ने नाराको साथ प्रथम ऐतिहासिक तमु (गुरुङ) सार्क सम्मेलन आज पुर्वान्चलको सुन्दर नगरी धरानमा शुरु भएको छ । आज उद्घाटन भएको सो ऐतिहासिक सम्मेलनमा यस आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले सहभागिता जनाएको छ । आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले स्वागत न्रित्य गर्दै घाँटु प्रस्तुत गरेको थियो । सो सार्क सम्मेलनको उद्घाटन सम्माननीय उपराष्ट्रपती श्री नन्द बहादुर पुनले गर्नु भएको थियो ।
उद्घाटन सत्रमा कोणसभा हुनु अगाडि सबै तमु (गुरुङ) संघ - संस्थाका प्रतिनिधिहरुले र्यालीमा सहभागीता जनाउनु भएको थियो । सो र्याली पुब्लिक उच्च मा. बि. को प्रांगणबाट शुरु भएर भानु चौकमा गएर सभामा परीणत भएको थियो । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषदको केन्द्रिय भवन निर्माणको लागि आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले एक लाख एक हजार एक सय प्रदान गर्यो । रु १०१,१००/- को चेक आजै समाजका अध्यक्ष श्री प्रशाद गुरुङले तमु ह्युल छोंजधी गुरुङ राष्ट्रीय परिषदका केन्द्रिय अध्यक्ष श्री रेशम गुरुङलाई हस्तांतरण गर्नु भयो ।
सम्माननीय उपराष्ट्रपती नन्द बहादुर पुनले संविधानले दिएको अधिकारलाई उपयोग गरी विविध भाषा, धर्म, संस्कार, संस्कृति र पहिचान भएका आदिवासी, जनजाति आदिको सहिष्णुताले विश्वमा शान्तिपूर्ण देश भनेर पहिचान बनाएको नेपालको त्यो महिमालाई शिखरमा पुर्याउन सकिने धारणा राखे । तमु (गुरुङ) समुदायले नेपालको पहिचानलाई विश्वभर फैलाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको उपराष्ट्रपति पुनले उल्लेख गर्नु भयो ।
सम्मेलनमा नेपाललगायत भारत, बर्मा, भुटान, संरा अमेरिका र खाडी मुलुकबाट आएका प्रतिनिधिहरुको सहभागिता गर्नु भयो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ पूर्वप्रधानसेनापति छत्रमान गुरुङ, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले, भारत सिक्किमका मन्त्री गर्जमान गुरुङलगायतलाई सम्मान गरेका थिए ।
तमु ह्यूल छोँज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङ, नेकपा (एमाले)का नेता पर्शुराम गुरुङ, तमुछोँज धी भुटानका अध्यक्ष राजमान गुरुङलगायतले गुरुङ् जातिका बारेमा बोलेका थिए ।