मनको बाबरी - विषेश प्रदर्शन
असार २३ २०७४, काठमाण्डौँ
आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँको आयोजनामा चलचित्र "मनको बाबरी"को विषेश प्रदर्शन राष्ट्रीय नाचघर, जमलमा सम्पन्न भएको छ । आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँको सदस्य श्री हेमन्त गुरुङ तथा एन्सर्ज गुरुङद्वारा निर्मित तथा अभिनित सो चलचित्र माओत्से गुरुङद्वारा निर्देशिन गरिएको हो । सो चलचित्र हेर्न दर्शकहरुको खचाखच भिडभाड थियो ।
सो विशेश प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथी तमु ह्युल छोंजधी गुरुङ राष्ट्रीय परिषदका अध्यक्ष श्री रेशम गुरुङ हुनुहुन्थ्यो । त्यस्तै अन्य विषेश अतिथिहरुमा बहुचर्चित कलाकार दयाहाङ राइ, निर्देशक नबिन सुब्बा, गायक निर्णय श्रेष्ठ, माओत्से गुरुङ, विश्व साइकल यात्री पुश्कर शाह, हास्यकलाकार पल्पसा डंगोल (चम्सुरी), चर्चित लोक गायीका शर्मिला गुरुङ, चर्चित लोक गायक राजु गुरुङ लगायत सो चलचित्रका सबै जसो कलाकारहरुको उपस्थिती रहेको थियो ।
आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँका अध्यक्ष श्री प्रशाद गुरुङले सबै दर्शकहरुलाई स्वागत गर्नुका साथै सो चलचित्रका कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।
अन्धविश्वास र रूढिवादी संस्कारको विरुद्धमा उभिएको चलचित्र "मनको बाबरी" लाई सबै दर्शकहरुले अत्यन्तै मन पराएका थिए । एक सो देखाइएको सो चलचित्र हाउसफुल भएको थियो । अन्धविश्वासकै कारण चलचित्रमा नायक र नायिकाको बीचमा उत्पन्न दरार अवस्था दर्शाइएको छ । सो चलचित्रले समाजमा व्याप्त रहेका कुसंस्कारलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न भूमिका खेल्न सक्ने विश्वाश गर्न सकिन्छ ।
निर्देशक माओत्से गुरुङकै लेखनमा तयार भएको चलचित्रमा निर्मातासमेत रहेकी नायिका एन्सर्ज गुरुङले सो चलचित्रमा मुख्य नायीकाको भूमिका निभाएकी छन् । नायक गमन घले तथा राजु गुरुङद्वारा मुख्य नायकको रुपमा अभिनित सो चलचित्रमा करीब ४० लाख रुपैयाँ लगानी भएको नायीकाले बताइन् । आगामी दिनमा सो चलचित्र ‘युके, हङकङ, दक्षिण कोरिया, अमेरिका र जापानमा पनि प्रदर्शन गरिदैं छ ।
सो चलचित्रका अन्य कलाकारह्हरुमा डीबी गुरुङ, सूर्य सुनुवार, राजेन्द्र थापा, एनबी गुरुङ, सीता गुरुङ, सोम गुरुङ, केदारनाथ पौडेल, विनु गुरुङ, इशु गुरुङ, यामकुमारी क्षेत्रीलगायतको अभिनय छ । हरि लामा घलेको छायांकन रहेको फिल्मको सम्पादन राजेन्द्र खड्काले गरेका हुन् ।
