स्याङ्जाको एलादी गाउँमा ३८३ जनाले गराए मिर्गौला परीक्षण
एलादी, स्याङ्जा, २०७४ मंशिर ३ गते आईतबार
स्याङ्जा जिल्ला, वालिङ नगरपालिका, वडा नंबर ४ अन्तर्गत एलादी स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मिर्गौला परीक्षण शिबिर सम्पन्न भएको छ । सो शिबिरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएको छ । सो शिविरमा एक जनामा कलेजोमा संक्रमण भएको भेटिएको थियो । करिब १५ प्रतिशतमा पिसाबमा प्रोटिन लिक भएको पाईएको थियो साथै अधिकांशमा उच्च रक्तचाप तथा केहीमा सुगर पाईएको थियो । बिहान ९ बजेबाट शुरु भएको निःशुल्क मिर्गौला परीक्षण शिविर अपरान्ह ३ बजेसम्म संचालन भएको थियो । काठमाण्डौंबाट २० जनाको समुह गएर सो शिविर सम्पन्न गराएका थिए ।
आँधीखोला तमू (गुरुङ) समाज, काठमान्डौको संयोजन तथा आयोजनमा अनि मानव अंग प्रत्यारोपण केन्द्र (Human Organ Transplant Center), भक्तपुर र आरोग्य प्रतिस्ठान (Aarogya Foundation), पुल्चोकको प्राविधिक सहयोगमा सो निःशुल्क मिर्गौला परीक्षण शिबिर सम्पन्न गरिएको हो । विशेष गरी मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउने उध्देश्यले आयोजना गरिएको सो निःशुल्क मिर्गौला परीक्षण शिबिर संचालन गर्न रोटरी क्लब अफ दि हिमालयन गुर्खाजले प्रायोजन गरेको थियो भने स्थानीय आयोजकको जिम्मा एलादी स्वास्थ्य चौकीले लिएको थियो । वालिङ नगरपालिकाका मेयर श्री दिलिप प्रताप खाँणले पनि आफ्नो मिर्गौला परीक्षण गराउनु भएको थियो र वहाँले अंग दान पनि गर्नुभयो ।
मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट सिनियर नेफ्रोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसर, ल्याब टेक्निसियन, स्टाफ नर्स लगायत २० जनाको टोलीले सो निःशुल्क शिबिर संचालन गरेका थिए । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले मिर्गौला रोग सम्बन्धि बिस्तृत रुपमा धारणा राख्नुका साथै मिर्गौला रोग कसरी लाग्छ र सो रोग लाग्न नदिनको लागि बिभिन्न उपायहरुको बारेमा पनि ब्याख्या गर्नु भएको थियो । र अन्तमा वालिङ नगरपालिका वडा नंबर ४ का वडा बध्यक्ष श्री रन्ध्वज गुरुङले आँधीखोला तमू (गुरुङ) समाज, काठमान्डौ, मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोक, ललितपुरलाई हार्दिक बधाइ तथा धन्यवाद दिनु हुँदै टिमका सबै सदश्यहरुलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोकलाई मायाको चिनो तथा कदरपत्र बितरण गर्नु भएको थियो ।
