तमू ल्होसार २०७४ धुमधामका साथ मनाइयो

January 02, 2018

तमू ल्होसार २०७४ धुमधामका साथ मनाइयो

१५ पौष २०७४, काठमाण्डौँ, नेपाल

हरेक बर्षजस्तै यो बर्ष पनि तमु ल्होसार २०७४ ब्यापक रुपमा भव्यतासाथ मनाइएको छ । यो बर्ष च्या ल्हो (चरा बर्ग) को बिदाइ र खि ल्हो (कुकुर बर्ग) को स्वागत गरीइएको हो । गुरुङहरुको १२ वटा बर्गहरुका अनुसार हिजो १५ पौष २०७४ बाट कुकुर बर्षको शुरुवात भएको छ । यो बर्षभित्र १५ पौष २०७४ देखी १४ पौष २०७५ भित्र जन्मने सबैजना कुकुर बर्गको हुनेछन । तमु ल्होसार २०७४ मनाउने सिलसिलामा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले पनि आफ्नो सकृय सहभागीता जनाएको छ ।

बिहान १० :०० बजे बसन्तपुर दरबार स्क्वायरबाट झाँकी तथा र्याली शुरु भएको थियो । सो र्याली बसन्तपुरबाट नयाँ सडक, भोटाहिटी, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुंदै टुंडिखेल प्रवेश गरेको थियो । सो झाँकी तथा र्याली प्रदर्शनमा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंले घाँटु न्रित्य, छिटो भाका गीत, तथा सोरठी न्रित्य पदर्शन गरेको थियो, साथै तमु (गुरुङ) हरुको मौलिक पहिचान झल्काउने खालको सामानहरुको प्रदर्शन गरेको थियो र पुरुष, महिला तथा बालबालिकाहरु पनि सबै जना स्याङ्जाली गुरुङ (तमु) भेषभुषामा सजिएका थिए । आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंको बिशेष प्रस्तुती भनेको तमु (गुरुङ) हरुको मौलिक तथा परम्परा झल्किने खालको घरको नमुना र चारपिर्के रोंटे पिङको नमुना उत्कृष्ट रहेको थियो । सो घर र रोंटे पिङको नमुनाको दर्शकहरुले अत्यन्तै चाख लगाएर अवलोकन गरेका थिए ।

त्यस्तै गरी तमु ल्होसार २०७४ मूल आयोजक समारोह समितिले बिभिन्न व्यक्तित्व तथा संस्थालाई तमु (गुरुङ) समुदाय तथा राष्ट्रलाई पुर्याएको योगदान स्वरुप सम्मान गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमंत्री श्री शेर बहादुर देउबा हुनुहुन्थ्यो । त्यस्तै काङ्रेसका नेता सिता गुरुङ, नेकपा-माओबादीका वरीष्ठ नारायण काजी श्रेष्ठ, नेकपा एमालेका नेता पार्वत गुरुङ, रा.प्र.पा. का नेता हेम जंग गुरुङ, संघीय समाजबादी फोरमका नेता रकम चेम्जोङ लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको गौरबमय उपस्थिती रहेको थियो ।

धन्यवाद !